Breaking News

संविधान संशोधन चुनावपछि मात्रै

काठमाण्डाै,२८ असार । सत्तापक्षको पूर्वप्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्ने प्रमुख विपक्षी एमालेले अडान लिएपछि संविधान संशोधन विधेयक संसद्को चुनावपछि मात्र अघि बढाउन सत्तापक्ष लचक देखिएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहान बसेको तीन दलको बैठकमा प्रमुख विपक्षी एमालेले चुनावपछि मात्र संशोधन विधेयक अघि बढाउने भन्ने सत्तापक्षका नेताहरूको पूर्वप्रतिबद्धता कार्यान्वयन हुनुपर्ने अडान राखेको थियो । संविधान संशोधन र २ नम्बर प्रदेशमा स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बोलाएका हुन् ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले सत्तापक्षले चुनावपछि मात्र संशोधन विधेयक अघि बढाउने भनेर संसद् र सार्वजनिक कार्यक्रममा प्रतिबद्धता जनाइसकेको भन्दै हाल आएर असारभित्रै संशोधन विधेयक अघि बढाउने भन्ने प्रचारको वास्तविकता के हो भनी प्रश्न गरेका थिए । जवाफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले प्रधानमन्त्री पद छाड्दा र त्यसपछिको अवस्थामा संशोधन विधेयक चुनावपछि गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएको कुरा स्वीकार गर्नुभएको बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

‘अहिले २ नम्बर प्रदेशको चुनावको कुरा भएकाले राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा कसरी सहभागी गराउन सकिन्छ भनेर छलफल गर्न खोजिएको हो’, दाहालको भनाइ उद्धृत गर्दै नेम्वाङले भने । प्रधानमन्त्री देउवाले संशोधन विधेयक अघि बढाउने बारे अहिले नै कुनै निर्णय भइनसकेको भन्दै राजपालाई चुनावमा ल्याउने विकल्पबारे छलफल अघि बढाइएको स्पष्ट पार्नुभएको थियो ।

देउवाले पनि चुनावपछि मात्र संशोधन विधेयक अघि बढाउने भन्दै तेस्राे चरणको चुनावमा लाग्न सबै दललाई संसदमा भाषणमार्फत आग्रह गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहालले संशोधनबारे सहमतिका लागि बैठकमा तीनवटा विकल्प प्रस्तुत गर्नुभएको थियो।

दाहालका तीन विकल्प

-सत्तापक्ष, विपक्ष र राजपा बसेर संशोधन प्रस्ताव तयार पार्ने र प्याकेज बनाई पारित गर्ने

– संसद्मा रहेको संशोधन प्रस्ताव अघि बढाई पास/फेल जे भए पनि परिणाम स्वीकार गरी अघि बढ्ने

– संशोधन प्रदेश र केन्द्रको चुनावपछि मात्र अघि बढाउने, राजपाका अन्य माग पूरा गर्ने

एमाले अध्यक्ष ओलीले पहिलो र दोस्रो विकल्पमा जाँदा समस्या समाधानभन्दा झन् बल्झिने भन्दै चुनावपछि मात्र संशोधन अघि बढाउने विकल्पमा जानुपर्ने धारणा राखेको एमाले संसदीय दलका उपनेता नेम्वाङले बताए । ओलीको धारणापछि प्रधानमन्त्री देउवाले राजपासँग पनि छलफल गर्नुपर्ने धारणा राखेका थिए। याे खबर अन्नपूर्ण पोस्टमा छ ।

shares