October 22, 2017

आज मातातीर्थ औंशी मनाइदै  

 काठमाण्डौ १३ बैशाख ।आज मातातीर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन ।

ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा वैशाख कृष्ण औंशीलाई मातातीर्थ औंशीका रुपमा मनाउने गरिन्छ ।

बिहानै उठेर नुहाएर आफनी  आमालाई तीर्थ बराबर मानेर उपहार, मीठो खानेकुरा, नयाकपडा आदि दिने र आशिर्वाद लिने गरिन्छ ।

आमाप्रति सम्मान प्रकट गर्ने मानिसहरु आमा भएको ठाउमा पुग्ने गर्छन । आमाले पनि छोराछोरीलाई दीर्घायु, सुस्वास्थ्यको आशिर्वाद दिने चलन छ । आमा नभएकाहरुले  काठमाडौंको थानकोटस्थित मातातीर्थ कुण्डमा स्नान गरि फलफूल, खाद्यन्न चढाउने गर्दछन् ।

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ ।

मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा स्नान गरि दान गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।