July 24, 2017

एमाले सहमत नहुदा संविधान संशाेधन यथास्थितिमै राख्ने सत्ता पक्षको तयारी

काठमाण्डौ,२७ असार । संसदमा संविधान संशाेधनका लागि दुई तिहाइ सदस्य पुर्याउन कठिन देखिन थालेपछि सत्तापक्षले संशोधनकाे  विषय यथास्थितिमा नै राख्ने तयारी गरेकाे छ ।
संविधान संशोधनका बिषयमा सहमति जुटाउन प्रधानमन्त्री निबास बालुवाटारमा अाज विहान बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रबिचको बैठक निष्कर्षबिहीन भएपछि उक्त प्रस्ताव थाती राखिने सत्तापक्षले तयारी गरेका हो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सबै तहको निर्वाचन पछि मात्र संविधान संशोधन विधेयक अघि बढाउन प्रस्ताव गरेपछि त्यस विषयमा राष्ट्रिय जनता पार्टी नेपालसँग थप वार्ता गरेर सत्ता पक्ष निष्कर्षमा पुग्ने नेताहरुले बताएका छन् ।

एमालेका उपाध्यक्ष भीमबहादुर रावलले निर्वाचनपछि मात्र राष्ट्रिय आवश्यकताका आधारमा संविधान संशोधन गराउन आफूहरु तयार रहेको स्पष्ट पारिएको बताउँदै सहमति विपरीत एकपक्षीय रुपमा संशोधन प्रस्ताव ल्याइए मान्य नहुने बताए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधन भएमा राजपा निर्वाचनमा सहज रुपमा आउने भएकाले यसबारे सहमति जुटाउन पहल गरिएको बताए । एमालेले हाललाई यो प्रस्ताव अघि नबढाउन आग्रह गरेकाले यसबारे के गर्ने भन्नेमा राजपासँग थप छलफल गरेर निष्कर्षमा पुग्ने उनकाे भनाई छ ।

काँग्रेसका नेता विमलेन्द्र निधिले संशोधनका पक्षमा दुई तिहाइ पुर्याउने गरी प्रक्रिया अघि बढाउन सरकार तयार रहे पनि एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले समर्थन दिन नसकेकाले के गर्ने भन्नेबारेमा राजपासँग थप परामर्श हुने जानकारी दिए ।

राजपालाई तेस्रो चरणमा हुने प्रदेश नं २ को स्थानीय तह निर्वाचनमा सहभागी गराउन सत्ता पक्षले संविधान संशोधनको तयारी गरेका सन्दर्भमा प्रमुख प्रतिपक्षी एमालेसँग छलफल भएको हो । एमालेले प्रदेशको सिमाना हेरफेर जस्ता विषयमा निर्वाचनअघि हुने संविधान संशोधनले राष्ट्रहित नगर्ने अडान राख्दै आएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *