August 16, 2017

मतगणनाबारे आयोगले गर्यो यस्तो निर्णय

काठमाडौँ, १३ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सरकारले पहिलो चरणमा ३१ वैशाखमा प्रदेश नम्बर ३, ४ र ६ र दोस्रो चरणमा ३१ जेठमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन गर्ने निर्णय गरेको छ ।

दुवै चरणको निर्वाचन सकिएपछि मात्रै मतगणना गर्ने कि पहिलो चरणको निर्वाचन सकिएलगत्तै भन्ने अन्योल भइरहेका वेला आयोगले यस्तो निर्णय लिएको  छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ३१ वैशाखमा प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए ।
प्रथम चरणको निर्वाचनको नतिजाले दोस्रो चरणको निर्वाचनलाई असर पर्न सक्ने भन्दै विभिन्न राजनीतिक दलले दुवै तहको निर्वाचन सम्पन्न भएपछि मतगणना गर्नुपर्ने बताउँदै आएका छन् । तर, आयोगले प्रथम चरणको निर्वाचनको मतपरिणामका लागि दोस्रो चरणको निर्वाचन कुर्न नसकिने स्पष्ट पारेको छ । यो खबर नयाँ पत्रिकामा छ ।