Breaking News

इराकी प्रधानमन्त्री अल-अबादीले  इराकी सैनिकहरुलाई दिए बधाई

काठमाण्डाै, २६ असार । आइएस विद्रोहीको कब्जाबाट मुक्त गरिएको  मोसुल नगरको भ्रमण गदै इराकी प्रधानमन्त्री हैदर अल-अबादीले  इराकी सैनिकहरुलाई बधाई दिएका छन् ।

उनको कार्यालयले जनाएअनुसार मोसुल पूर्ण रुपमा मुक्त भएको सन्देश दिन उनी त्यो नगरको भ्रमणमा गएका हुन् ।मोसुल नगर आइएस विद्रोहीको कब्जाबाट मुक्त भएको बताइएलगत्तै इराकी प्रधानमन्त्री अल-अबादी सैनिकहरुलाई बधाई दिन सो नगर पुगेको प्रधानमन्त्री कार्यालयले एक वक्तव्यमा जनाएको छ।

मोसुल मुक्त गर्ने सैन्य कारबाहीमा कुर्दिश पेशमेर्गा लडाकु संगै सुन्नी अरबी आदीबासी र शिया विद्रोही सहभागी भएको बताइएको छ । मोसुल मुक्त भएको प्रधानमन्त्रीको भनाइ सार्वजनिक हुनुअघि त्यहाँ सरकारी फौज र विद्रोहीबीच झडप भएकाे थियाे ।

अमेरिकी हवाई कारबाहीको साथ पाएका इराकी सैन्य फौजहरुले गत वर्षको अक्टोबरदेखि मोसुललाई आइएसको पकडबाट मुक्त गर्ने सैन्य अभियानमा लागेका थिए। मोसुल मुक्त भएपनि सो नगर वरपरका कयौं भूभागमा अझै पनि आइएसको नियन्त्रण कायमै छ ।ती क्षेत्रबाट आइएसले अझै पनि आक्रमणहरु जारी राख्न सक्ने चिन्ताहरु हटेका छैनन । इराक र सिरियामा आइएस कमजोर हुँदै गइरहेको ठानिएपनि सो क्षेत्र शान्त रहनेमा आशंकाहरु कायमै छन्।

shares