October 22, 2017

त्रिभुवन आर्मीको जितसँगै विशाल मेमोरियल कपको सेमिफाइनल समिकरण पूरा

काठमाण्डौ, १२ वैशाख । पर्साको वीरगञ्जमा जारी विशाल मेमोरियल कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

नारायणी रंगशालामा आज सम्पन्न भएको खेलमा त्रिभुवन आर्मीले हिमालय शेर्पालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा खेलको पहिलो हाफमा हिमालय शेर्पाले एक गोलको अग्रता लिएको थियो ।

हिमालय शेर्पाका विदेशी खेलाडी एलेक्सको गोलबाट अग्रता लिएको हिमालयले उक्त अग्रता जोगाउन नसक्दा खेलको दोस्रो हाफको ७६ औं मिनेटमा त्रिभुवन आर्मीका खेलाडी प्रिन्स कार्कीले खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा गएको हो ।

प्रतियोगितको सेमिफाइनल खेलहरु भोलिबाट सुरु हुनेछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।