November 18, 2017

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, वाणिज्य बैंकहरूले सात सय ४४ वटै स्थानीय तहमा शाखा खोल्नुपर्ने

काठमाण्डौ २५ असार । राष्ट्रबैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको जनाएको छ ।

काठमाडौमा आज आर्थिक वर्ष २०७४/७५ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रबैंकले सरकारले निर्धारण गरेको आगामी आवको सात दशमलव प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक उपकरण प्रयोग गरी प्राथमिकताका आयोजनामा लगानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले नयाँ मौद्रिक नीतिले सरकारको ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुर्याउने बताए । नीतिका अनुसार वित्तीय सेवाको पहुच विस्तार गर्न संघीय संरचना अनुसार सबै तहमा बैंकको शाखा विस्तार गर्ने कार्यलाई प्राथमिकता दिइने जनाइएको छ ।

निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्नसक्ने व्यवस्थालाई ६५ प्रतिशत पुर्याइएको छ । साथै, व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा उक्त सीमा ८० प्रतिशत कायम गरिएको छ ।

आवासीय घर कर्जाको १ करोड रुपैयाको सीमालाई वृद्धि गरी  १ करोड ५० लाख कायम गरिएको छ । त्यस्तै शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिने भएको छ भने एउटै सूचीकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुजीको १० प्रतिशतसम्म मात्र प्रवाह गर्नसक्ने व्यवस्था गरिनेछ । नीतिमा वाणिज्य बैंकले ७ सय ४४ वटै स्थानीय तहमा शाखा खोल्नुपर्ने प्रावधान ल्याइएको छ ।