July 21, 2017

बिराटनगर महानगरमा २० वर्षपछि काँग्रेसको पुनारागमन, प्रमुखमा भीम पराजुली र उपप्रमुखमा इन्दिरा कार्की विजयी

उद्धव घिमिरे / विराटनगर, २५ असार । कांग्रेसका भीम पराजुली र इन्दिरा कार्की विराटनगर महानगरपालिका को प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।
पहिलो चरणको निर्वाचनमा मुलुकका मुख्य दुई महानगर काठमाडौं र पोखरा- लेखनाथमा पराजयको पीडा बोकेको नेपाली कांग्रेसले विराटनगरको परिणामबाट केहि राहात महशुस गरेको छ ।
विराटनगर महानगरको प्रमुख र उपप्रमुखसहित ७ वटा वडाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको  छ । पराजुलीले ५ हजार ७ सय १० मतान्तरले एमालेका विनोद ढकाललाई पराजित गर्दै विजयी माला पहिरिएका छन् । पराजुलीले २३ हजार ३१ र ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसकै इन्दिरा कार्कीले २० हजार १ सय ४६ मतका साथ विजयी भएकी छिन । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याइन् । यसप्रकार कार्कीले ८ हजार ६ सय २२ मतले अग्रता लिंदै विजयी माला पहिरीएकी हुन् ।
कांग्रेसले वडा नंम्बर १, ३, ४, ७, ८, ९, र १६ गरी ७ वटा वडाको वडाध्यक्ष जितेको छ । विजयी वडाध्यक्षमा क्रमशः उद्धव अर्याल, विनोद बस्नेत, देवेन्द्रराज पोखरेल, मधुबाबु तिवारी, निश्चल अर्याल, विश्वनाथ भगत र मनोज सुब्बा छन् ।
त्यस्तै मधेसी जनअधिकार फोरमले वडा नंम्बर १२, १३, १४, १५, १७ र १८ मा गरी ६ वटा वडाको वडाध्यक्ष आफ्ना पोल्टामा पारेको छ । फोरमबाट विजयी वडाध्यक्षहरुमा क्रमशः हीरालाल कामत, झरीलाल महतो(नुनिया) , बलदेव यादव, असलाम आलम, समिम कमर मियाँ र सञ्जीवकुमार शाह छन् ।
एमालेले वडा नंम्बर २, ५ र ११ मा गरी ३ वटा वडाध्यक्ष जितेको छ । एमालेबाट विजयी वडाध्यक्षहरुमा क्रमशः कुमार पोखरेल, मीनकुमार आचार्य र तीर्थेन्द्र न्यौपाने रहेका छन् । त्यस्तै माओवादी केन्द्रका विजय कामतले वडा नंम्बर ६ को वडाध्यक्षमा विजय प्राप्त गरेका छन् ।
त्यसैगरी वडा नंम्बर १० मा एमालेबाट टिकट नपाएपछि विद्रोहीको रुपमा स्वतन्त्रबाट उम्मेद्वारी दिएका माधवप्रसाद वाग्ले विजयी भएका छन् भने वडा नंम्बर १९ मा कांग्रेसले टिकट नदिएपछि विद्रोहीको रुपमा स्वतन्त्र उम्मेद्वारी दिएका बद्रीनारायण सरदारले विजय हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *