August 19, 2017

नयाँ शक्ति र समाजवादी फोरम एउटै चुनाव चिन्ह ‘मशाल’ लिएर स्थानीय चुनावमा भाग लिने

काठमाण्डौ, १२ वैशाख । चुनाव चिन्हको माग गर्दै आन्दोलनमा उत्रिएको नयाँ शक्ति पार्टी, नेपालले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि ‘मशाल’ चुनाव चिन्ह पाएको छ ।

संसदमा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरुलाई सरकारले निर्वाचन चिन्हबाट बञ्चित गरेपछि संसदमा प्रतिनिधित्व गर्ने दल सङ्घीय समाजवादी फोरमसँग चुनावी तालमेल तथा कार्यगत एकता गरेपछि निर्वाचन आयोगमा दर्ता भएको फोरमको चुनाव चिन्ह एक हातले समातेको ‘मशाल’ मै नयाँ शक्तिले चुनाव लड्ने भएको हो ।

मंगलबार अपरान्ह एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाऊँ भनि निर्वाचन आयोग पुगेका दुबै दलका नेताहरुलाई एकल चुनाव चिन्हमा निर्वाचन लड्नको लागि निर्वाचन आयोगले स्वीकृति दिएको नयाँ शक्ति पार्टी, नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताए ।

साथै नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम एकिकरणको तयारीमा समेत जुटिरहेका छन् ।