September 25, 2017

संविधान संशोधनको पक्षमा दुई तिहाइ बहुमत जुटाउन फेरि कसरत

काठमाण्डौ, २५ असार । सत्ता गठबन्धनका दुई शीर्ष नेताहरुले राष्ट्रिय जनता पार्टीसँग गरेको सहमतिअनुसार संविधान संशोधनको पक्षमा दुई तिहाइ बहुमत जुटाउने कसरत थालेका छन् ।

सरकार र राजपाका नेताहरुबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एक साताभित्रै संविधान संशोधन पारित गर्ने समझदारी भएको थियो । प्रमुख प्रतिपक्ष एमालेले संविधान संशोधनमा साथ नदिने भएपछि प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उसको समर्थनबिनै दुई तिहाई मत पुर्‍याउने कसरतमा लागेका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले शनीबार बालुवाटारमा राप्रपाका अध्यक्ष कमल थापा र नेता पशुपतिशमशेर राणासंँग  छलफल गरे । छलफलमा देउवा र दाहाल संविधान संशोधनमा राप्रपा एक ढिक्का हुन सक्ने या नसक्नेमा भन्नेमा आश्वस्त हुन खोजेका थिए । थापा र राणाले पार्टीको ‘ह्वीप’ अनुसार संविधान संशोधनको पक्षमा पार्टी एकमत हुने बताए पनि देउवा र दाहाल आश्वस्त हुन नसकेपछि राप्रपाले आइतबार नै संसदीय दलको बैठक बोलाएर संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाउने भएको छ ।

संसदमा राप्रपाको ३७ सिट छ । राप्रपा एकमत भएको खण्डमा संविधान संशोधन विधेयक पारित हुने प्रबल सम्भावना छ । राप्रपा सरकारमा जान चाहिरहेका बेला प्रधानमन्त्री देउवाले संविधान संशोधन विधेयकमा एकमतका सात उभिए उसलाई उपप्रधानमन्त्रीसहित चार मन्त्रालय दिने संकेत गरेका छन् । उपप्रधानमन्त्री पाए राप्रपा अध्यक्ष थापा आफैं पार्टीबाट सरकारको नेतृत्व गरेर जाने पक्षमा छन् ।

राप्रपा एक ढिक्का हुने या नहुने भन्नेमा आश्वस्त हुन नसकेकै कारण सत्ता गठबन्धन दलले संविधान संशोधनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका हुन् । ‘कति मन्त्रालय कुन–कुन पार्टीबीच भागबण्डा गर्ने भन्ने निर्णय संविधान संशोधनको पक्षमा राप्रपा एकढिक्का हुने र नहुने भन्नेले धेरै हदमा निर्धारण गर्ने देखियो’ देउवा निकट स्रोतले भन्यो,‘राप्रपा एक ढिक्का हुने अवस्था आए दुई तिहाई समर्थन पुग्ने गरी मन्त्रिपरिषद् विस्तार हुन्छ ।

नत्र सबै दल सरकारमा ल्याउनुको औचित्व हुन्न ।’ संविधान संशोधनमा एक ढिक्का हुनेमा आशंका जनाउदै सत्ता गठबन्धन दलले यसअघि राप्रपालाई उपप्रधानमन्त्रीबिनाको चार मन्त्रालय छुट्टयाएको थियो । कांग्रेस नेता विमलेन्द्र निधिले राप्रपाका ३७ सदस्य नै संविधान संशोधनको पक्षमा उभिएमा प्रमुख प्रतिपक्षबिनै दुई तिहाई मत सजिलै पुग्ने दावी गरे । ‘तैपनि हामी संविधान संशोधनमा प्रतिपक्षको साथ खोजेका छौं ।

प्रतिपक्ष एमालेसंग पनि हाम्रो छलफल हुन्छ’ मन्त्रिपरिषद् विस्तारबारेको प्रश्नमा निधिले भने,‘संविधान संशोधन विधेयकलाई अघि बढाउने प्राथमिकता सत्ता गठबन्धनको छ । त्यसपछिमात्रै मन्त्रिपरिषद विस्तार हुन्छ ।’ निधि कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डा मिलाउन गठित कार्यदलका सदस्य समेत हुन् । याे खबर कान्तिपुर दैनिकमा छ ।