September 21, 2017

कार्तिक महिनादेखि सेयर कारोबार अनलाइन मार्फत

काठमाडौ, २४ असार । आउँदो कार्तिक २१ गतेदेखि लगानीकर्ताले अनलाइनबाटै सेयर कारोबार गर्न पाउने भएका छन्।

लामो समयको पर्खाइपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेले पूर्ण स्वचालित (फूल्ली अटोमेटेड) विद्युतीय कारोबार सुविधा लगानीकर्तालाई दिन लागेको हो । अनलाइन सेयर कारोबारका लागि सफ्टवेयर निर्माणको काम अन्तिम चरणमा रहेकाले कार्तिक तेस्रो दातादेखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गर्ने योजना बनाएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बताए ।

‘अनलाइन कारोबारका लागि आवश्यक धेरैवटा सिस्टम निर्माणको काम अन्तिम चरणमा छ, उनले भने ‘ हालसम्मको कार्यप्रगति हेर्दा कार्तिक तेस्रो सातादेखि औपचारिक रुपमा अनलाइन कारोबार सुरु गर्न सकिन्छ ।’ आफ्नो चार वर्षे कार्यकालको अन्तिम दिन नेप्सेमा आयोजित पत्रकार सम्मेलनमा महाप्रबन्धक थपलियाले यस्तो बताएका हुन्।’पछिल्लो चार वर्षमा दोस्रो बजारमा उल्लेख्य परिवर्तन भएका छन्’ थपलियाले भने ‘ नेप्सेले नीतिगत रुपमा संस्थागत तथा प्राविधिकपक्षमा गरेका सुधारहरुको नतिजास्वरुप यी उपलब्धीहरु हासिल भएका हुन् ।

‘ आफ्नो कार्यकालमा सीडीएस एन्ड क्लियरिङ पूर्ण रुपमा सञ्चालनमा आएको, अभौतिक (डिम्याट) सेयरको मात्र कारोबार भएको, नेटिङमा आधारित राफसाफ प्रणाली सुरु भएको, कारोबार समय थपेर चार घण्टा पुर्‍याइएको, लगानीकर्तालाई मार्केट डेप्थ हेर्ने सुविधा दिइएको, सूचीकत कम्पनी आफैले सूचना राख्न सक्ने व्यवस्था भएको, आन्तरिक नियन्त्रण प्रणाली र संगठनात्मक ढाँचामा सुधार भएको थपलियाले बताए ।  याे खबर कान्तिपुर दैनिकमा छ।