August 17, 2017

जनकपुरधाममा ‘जानकी नवमी’ भव्यतापूर्वक मनाइने

आतिश मिश्र / जनकपुरधाम, १२ वैशाख । देवी सीताको जन्मोत्सव अर्थात् ‘जानकी नवमी’ यस वर्ष जनकपुरधाममा भव्यतापूर्वक मनाइने भएको छ ।

भगवान रामको जन्मोत्सव भव्यताका साथ मनाउने परम्परा रहे पनि गत वर्ष देखी जानकी नवमी समेत भव्यपूर्वक मनाउन लागिएको हो । वैशाख २१ गते मनाइने जानकी नवमी यस वर्ष ९ दिवसीय कार्यक्रम गरी मनाइने जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले जनाएका छन् ।

९ दिवसीय कार्यक्रम अन्तर्गत राम कथा वाचन, शाही स्नान, जन्मोत्सव, शोभायात्रा, धार्मिक सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । राम कथा वाचनको लागि जगत् गुरु राजेन्द्र दास वैशाख १७ गते जनकपुर आउने भएका छन् । उनलाई सोही दिन भव्य स्वागत गरिने र १८ गते देखी ९ दिन सम्म जानकी मन्दिर प्राङ्गणमा राम कथा वाचन हुने र सोको प्रत्यक्ष प्रशारण आस्था च्यानलले गर्ने छोटे महन्थ दासले बताए ।

जानकी नवमीको तयारीको लागि मन्दिरले धनुषाका प्रशासनिक अधिकारी, राजनीतिक दल र समाजिक संघ संस्थाहरुसँग निरन्तर छलफल संवाद जारी राखेको छ ।