September 20, 2017

प्रदेश नम्बर सातमा कांग्रेस किन कमजोर ?

धनगढी, २४ असार । दुई दशकपछि भएको स्थानीय तह निर्वाचनमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाक गृहजिल्लाबाट पराजय सुरु गरेको कांग्रेसले आफ्ना धेरै आधार क्षेत्र गुमाउन पुगेको छ ।

८८ स्थानीय तह रहेको प्रदेश ७ मा धनगढी उपमहानगर र कञ्चनपुरको पुनर्बास नगरपालिकाको मत परिणाम आउन बाँकी रहेका बेला कांग्रेस दोस्रो स्थानमा देखिएको छ । यो प्रदेशमा एमाले पहिलो शक्तिको रुपमा उदाएको छ । एमालेले प्रदेश ७ का महत्वपूर्ण नगरपालिकासहित ३८ स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले अधिकांश नगरपालिका गुमाएर ३७ स्थान प्राप्त गरेको छ । माओवादी केन्द्रले १० स्थानमा जितेको छ भने नेपाल लोकतान्त्रिक फोरमले १ स्थानमा विजय हासिल गरेको छ ।

देउवाको गृहजिल्ला डडेल्धुरा सदरमुकामको अमरगढीनगरपालिका क्षेत्रीय सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका, कांग्रेसभित्र प्रभावशाली देखिने गरेका नेता एनपी साउद र रमेश लेखकको क्षेत्र कञ्चनपुरको भीमदत्तनगर, कृष्णनगरसँगै कञ्चनपुरकै बेलौरी नगरपालिकामा कांग्रेस पराजित भएको छ । कैलालीका टीकापुर नगरपालिका, गोदावरी नगरपालिका जस्ता राजनीतिक रुपमा समग्र प्रदेशलाई प्रभावित पार्ने क्षेत्रमा पनि कांग्रेसले पराजय भोग्नुपरेको छ ।

यसअघि आफ्नो वर्चश्व भएका अधिकांश राजनीतिक आधार क्षेत्र गुमाएको कांग्रेसका लागि आगामी निर्वाचन झन् चुनौतीपूर्ण हुने देखिएको छ । ‘मतदाताको चाहना अनुसार कांग्रेसले आफूलाई परिवर्तन गर्न नसकेको संकेत हो’ सुदूरपश्चिम विश्वविद्यालयका पूर्व कुलपति प्रा. डा. हेमराज पन्तले भने ‘न चुनावी रणनीति न त जनचाहना अनुसार नै आफूलाई परिवर्तन गर्न सक्यो, जसको परिणाम हो कांग्रेसले आफ्नो परम्परागत आधार क्षेत्र गुमाउनु ।’ ठूलो संख्यामा थपिएका युवा मतदाताको चाहना अनुरुप कांग्रेस अगाडि बढ्न नसकेको उनले बताए । याे खबर कान्तिपुर दैनिकमा छ ।