October 18, 2017

‘म स्वस्थ–मेरो देश स्वस्थ’ नारासहितको ‘मेरो वर्ष अभियान २०७४’ घोषणा

काठमाण्डौ, ३१ चैत्र । स्वास्थ्यमन्त्री गगन थापाले ‘म स्वस्थ–मेरो देश स्वस्थ’ नारासहितको ‘मेरो वर्ष अभियान २०७४’ घोषणा गरेका छन् ।

नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि अभियान सुरु हुने स्वास्थ्यमन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाण्डौको दशरथ रंगशालाबाट शुक्रबार अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

अभियानका बिषयमा जानकारी दिन बिहीबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व रहेकाले अभियान सुरु गरिएको बताए ।

स्वास्थ्य मन्त्री थापाले जीवनशैलीमा आधारित रोगहरुको प्रकोप बढ्दै गएकाले अभियान सुरु गरिएको जानकारी दिए । उनका अनुसार नेपालमा कूल मृत्युको ४४ प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ ।

यी रोग लाग्नुको प्रमुख कारण अस्वस्थ जीवनशैली, अत्यधिक मदिरा सेवन, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, व्यायामको कमी, अस्वस्थकर खानपान र वायु प्रदूषण रहेको मन्त्री थापाले बताए ।

हरेक नागरिकलाई स्वस्थ जीवन जिउन मन्त्री थापाले पाँच प्रतिबद्धता गर्न आह्वान पनि गरे ।