नोट सफा राख्न गभर्नर नेपालको आग्रह

काठमाण्डौ, २३ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले आफूले प्रयोग गर्ने नोट सफा राख्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

नेपाल फलाटेलिक सोसाइटीले काठमाण्डौमा आज गरेको कार्यक्रममा गभर्नर नेपालले नेपाली नोटको छपाई स्वदेशमा नहुने हुँदा प्रयोग गर्दा सावधानी अपनाउन सचेत गराएका हुन् । पूजापाठमा रंगाउने चलनले नोटको आयु कम हुन गएको भन्दै गभर्नर नेपालले पैसामा अविर दल्ने चलन निरुत्साहित गर्न पण्डित/पुरोहितहरूलाई आग्रह पनि गरे ।

साथै पैसामा केर्ने चलनलाई इंगित गर्दे गभर्नर नेपालले पैसामा साहित्य सिर्जना गर्न बन्द गर्न पनि सुझाव दिए । ३ दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली १ रुपैयाँदेखि जिम्बाबेको ५० निलसम्मका नोट राखिएका छन् ।