August 19, 2017

आर्थिक अभावका कारण ९० वर्षीय वृद्ध जेल जीवन बिताउन वाध्य

दिनेश शर्मा / राजविराज, १२ वैशाख । आर्थिक अभाव र कानूनी प्रकृया नजान्दा सप्तरीका एक ९० वर्षीय वृद्ध लामो समयदेखि जेल जीवन बिताइरहेका छन् ।

किर्ते जालसाझ मुद्दामा जिल्ला अदालत राजविराजले कैद तथा जरिवाना सजाय सुनाएका मलेठ गाविसका वृद्ध सुर्य नारायण मण्डल जरीवाना रकम बुझाउने पर्याप्त रकम नहुँदा थप ३ वर्ष जेल बस्न विवश छन् ।

स्थानीय सिताराम चौधरी, गणपति खंग खत्वे, राम यादव, जमुनी वेगम, विन्दादेवी साह लगायतले दिएको जाहेरीका आधारमा प्रहरीले चलाएको किर्ते जालसाज मुद्धामा अदालतले ०७३ साउन १४ गते मण्डललाई ३ लाख ६६ हजार १ सय ८७ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तोकेको थियो ।

अदालतले तोकेको कैद सजाय भुक्तान गरिसके पनि आर्थिक अभावका कारण जरीवाना रकम तिर्न नसक्दा थप ३ वर्ष जेलमै बिताउनु पर्ने उनको वाध्यता छ । ज्येष्ठ नागरिकले पाउने कानूनी प्रावधान अनुसार २५ प्रतिशत सजाय भुक्तान गर्दा ६ महिना २ दिन मात्र जेल बसे पुग्ने भएपनि उनी ९ महिना ४ दिनदेखि जेल जीवन बिताइरहेका छन् ।

जरिवाना रकम बुझाए प्रक्रिया पुर्‍याएर तत्कालै रिहा गर्न सकिने जेलर कृष्ण दाहालको भनाई छ । मण्डलका छोरा महेन्द्रले दिएको निवेदन तथा वृद्ध मण्डललको दयनीय अवस्था हेरेर आफुले कारागार विभागमा पनि पत्राचार गरिसकेको जानकारी दिँदै जवाफको प्रतिक्षामा रहेको जेलर दाहालले बताए ।