भारतको पिथौरागढ जिल्लाको घट्टेधारमा पहिरोमा परी ३ नेपालीको मृत्यु

काठमाण्डौ, २२ असार । भारतको पिथौरागढ जिल्लाको धारचुलानजिकै घट्टेधारमा पहिरोमा परी ३ नेपालीको मृत्यु भएको छ ।

घटनामा दुई नेपाली घाइते छन् । नेपाल–भारत जोड्ने तिग्रमघाटबाट दार्चुलाको सीमावर्ती बजार धारचुला आउने क्रममा दिउँसो पहिरोमा युके ०५ के १२२१ नम्बरको गाडी पुरिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उक्त दुर्घटनामा दुहु गाउँपालिका एक पिपलचौरी सौतोलीका अन्दाजी ३५ वर्षीया हिरादेवी बम, अन्दाजी २२ वर्षीय उनका छोरा ओमकार र १४ वर्षीय छोरी प्रिङका बमको मृत्यु भएको छ ।

सोही स्थानका अन्दाजी २४ वर्षीय डमरीदेवी बम र २१ वर्षीय माधुरी बम घाइते भएको दार्चुलाका डीएसपी केदार खनालले जानकारी दिए । दुर्घटनामा पिथौरागढ जिल्ला जुमा ग्राम पञ्चायतका गाडी चालक ३२ वर्षीय विनोद विश्वकर्मा र सोही ठाउँका झुछाल सिंहको समेत मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिप्रका दार्चुलाले जनाएको छ ।