September 23, 2017

नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु

निलम / काठमाण्डौ, २२ असार । नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

केन्द्रीय स्तरको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते, उसु, फुटबल र क्रिकेट गरी ८ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा दशरथ रंगशाला त्रिपुरेश्वरमा उद्घाटन गरिन् । राष्ट्रपति भण्डारीले केन्द्रीयस्तरको प्रतियोगिताले खेल र खेलाडीको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतियोगिताको सबै खेलमा ५ विकास क्षेत्रबाट १ सय ४२ जनाका दरले जम्मा ७ सय १० खेलाडी सहभागी भएका छन् । प्रतियोगिता अन्तर्गत एथलेटिक्स र फुटबल दशरथ रंगशालामा, भलिबल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा, कबड्डी कीर्तिपुरमा, तेक्वान्दो पेप्सीकोलामा रहेको कोटेश्वर तेक्वान्दो डोजाङमा, कराँते लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा र क्रिकेट कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।

प्रतियोगिताको टिम च्याम्पियनले २५ हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १५ हजार पुरस्कार पाउनेछन् । व्यक्तिगत प्रतिस्पर्धामा शीर्ष ३ स्थानमा रहनेले क्रमशः ३ हजार, २ हजार र १ हजार पुरस्कार पाउनेछन् ।