September 20, 2017

राष्ट्रिय एकता कायम गर्न प्रेसले भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

काठमाण्डौ, २२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतालाई कानूनले नै मान्यता दिएकाले नेपालमा यस विषयमा बढी अभ्यास भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाण्डौमा पत्रकार डा.महेन्द्र बिष्टको पुस्तक ‘नेपालमा प्रेस स्वतन्त्रता र सार्वजनिकीकरण एवं अन्तरसंवाद’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाली प्रेसले धेरै उतारचढाव झेल्दै अघि बढेको स्मरण समेत गरे । उनले राष्ट्रिय एकतालाई कायम गर्न प्रेस जगतले योगदान गर्नुपर्ने बताउँदै लोकतन्त्रको पर्याय नै प्रेस भएको उल्लेख समेत गरे । त्यस्तै लोकतन्त्र टिकाउन प्रेस स्वतन्त्रता हुनुपर्ने र लोकतन्त्रले नै स्वतन्त्र प्रेसको रक्षा गर्ने उनको भनाई थियो ।

३ सय १५ पृष्ठ रहेको उक्त पुस्तकमा ६ भाग रहेको र पुस्तकमा पत्रकारिताको इतिहास, अवसर र चुनौतीहरुबारे अनुसन्धान गरिएको पत्रकार बिष्टले जानकारी दिए ।