September 23, 2017

एण्डी मुर्रे विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

काठमाण्डौ, २२ असार । विश्व नम्बर एक टेनिस खेलाडी एण्डी मुर्रे विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बेलायती खेलाडी मुर्रेले जर्मनीका डस्टिन ब्राउनलाई ६–३, ६–२ र ६–२ को सोझो सेटमा हराउँदै उनले तेस्रो चरणमा स्थान बनाएका हुन् । तेस्रो चरणमा मुर्रेले २८ औं वरियताका इटलीका फावियो फोग्निनीसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, विश्व नम्बर दुई राफायल नाडालले पनि तेस्रो चरणमा प्रवेश पाएका छन् । दुई पटकका विम्बल्डन विजेता नाडालले अमेरिकाका डोनाल्ड योङ्गलाई ६–४, ६–२ र ७–५ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् । योङ्गलाई हराउन नाडालले २ घण्टा ११ मिनेट समय कोर्टमा खर्चिए । नाडालले तेस्रो चरणमा ३० औं बरियताका रुसी खेलाडी कारेन खाचानोभसँग शुक्रबार खेल्नेछन् ।

यता, विश्व नम्बर तीन स्विस खेलाडी रोजर फेडेररले तेस्रो चरण प्रवेशका लागि सर्वियाका डुसान लाजोभिकसँग प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार अाज राति सवा १० बजे हुनेछ ।