October 24, 2017

एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा दक्षिणाले नेपाललाई स्वर्ण दिलाइन्

काठमाण्डौ, १२ वैशाख । दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण पदक जितेकी छिन् ।

हङकङस्थित काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा कुमार लामा घिसिङको प्रशिक्षणमा रहेको नेपालले १ स्वर्ण, ४ रजत र ६ काँस्य गरी कुल ११ पदक हात पार्‍यो । नेपालका चार खेलाडीले फाइनल यात्रा तय गरे पनि स्वर्ण भने जित्न सकेनन् ।

महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउँदै स्वर्ण जितिन् । क्याडेट २९ केजीमुनि सुप्रीमा बजगाई सडेन डेथमा मंगोलियाकी खेलाडीसँग स्तब्ध भइन् । निर्धारित तीन राउन्डको खेल ७–७ स्कोरमा बराबरी भएपछि खेलिएको सडेन डेथमा हार बेहोर्दै सुप्रीमा रजत पदकमै सीमित भइन् ।

पुरुष सिनियर ७४ केजीमुनिको फाइनलमा विकेस बिडारीले सुरुआती अग्रताका बाबजुत सम्हालिन नसक्दा ६–४ स्कोरले हार बेहोर्दै रजत पदकमै चित्त बुझाए । महिलाको सिनियर ६२ केजीमुनि लक्ष्मी घले र पुरुष क्याडेट ४५ केजीमुनि सुजन गुरुङ फाइनलमा पुग्दा रजत पदक हात पारे ।

पुरुषतर्फ ५८ केजीमुनि मिसन रासकोटी, ६८ केजीमुनि आकाश पुन, क्याडेट ४५ केजीमुनि सागर तङ्नामी, ६३ केजीमुनि अमृत थापा र ५४ केजीमुनि प्रकाश थापाले काँस्य पदक जिते । महिलातर्फ सुमित्रा खत्रीले ७४ केजीमाथि काँस्य पदक जितिन् ।

अप्रिल २२–२५ सम्म भएको उक्त च्याम्पियनसिपमा तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा ग्रेडिङ प्रमुख नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । टिम व्यवस्थापकमा राजीव महर्जन र राजू खड्का रहेका थिए । च्याम्पियनसिपमा नेपालबाट १३ खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा हङकङ, ताइवान, मकाउ, चीन, मंगोलिया, सिंगापुर, नेपाल, इन्डोनेसिया, फिलिपिन्स, कोरिया लगायतका राष्ट्रबाट २१ टोलीका १ हजारभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।