September 25, 2017

दिल्लीमा अलपत्र परेका ९ नेपाली बालकको उद्धार

काठमाण्डौ, २२ असार । भारतको दिल्लीमा अलपत्र अवस्थामा भेटिएका ९ जना बालकहरुलाई उद्धार गरी आज नेपालगन्ज ल्याइएको छ ।

केन्द्रीय बालकल्याण समिति, जिल्ला बाल कल्याण समिति र माइती नेपाल नेपालगन्जको संयुक्त पहलमा १२ देखि १६ वर्ष उमेर समूहका ती बालकहरुलाई जमुनाह नाका भएर नेपालगन्ज ल्याइएको माइती नेपाल नेपालगन्ज शाखाका संयोजक केशव कोइरालाले जानकारी दिए ।

उद्धार गरिएका बालकहरुमा दाङका २, कञ्चनपुरका ३, नवलपरासीका १, सिराहका २ जना र एक जना ठेगाना खुल्न नसकेको बालकलाई दिल्लीका विभिन्न स्थानबाट उद्धार गरिएको हो । उनीहरुलाई अहिले जिल्ला बालकल्याण समिति बाँकेमा राखेर परामर्श गर्ने काम चलिरहेको र त्यसपछि परिवारको जिम्मा लगाइने बताइएको छ ।

उनीहरु घरबाट भागेर गएका, आफन्तबाट छुटेका र अन्य विविध कारणले अलपत्र अवस्थामा थिए । भारतमा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको पहलमा उनीहरुलाई उद्धार गर्न सहज भएको हो ।