November 18, 2017

आफ्नो पार्टीका विचार समेटेर राजपासँग सहमति गर्ने प्रस्ताव अाए त्यसलाई पास गराउने एमाले नेता रावलको जोड

काठमाण्डौ, २२ असार । नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले आफ्नो पार्टीका कुराहरु समेटेर राजपासँग सहमति कायम गर्ने नयाँ प्रस्ताव ल्याइए त्यसलाई पास गराउन एमालेले सहयोग गर्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नभएकोले त्यसलाई अविलम्ब फिर्ता दिनुपर्ने समेत उल्लेख गरे । अहिलेको प्रस्तावमा उल्लेख भएको सीमांकनसम्बन्धी विवाद आयोगमार्फत् टुंगो लगाउने कुराले प्रदेशको अधिकारलाई कटौती गरेकोले यसमा पनि आफ्नो पार्टीको विरोध रहेको रावलको भनाई थियो ।

त्यस्तै सरकारले स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न नपाउने प्रस्ताव ल्याएकोले यसलाई आफूहरुले कुनै पनि हालतमा नमान्ने अडान कायमै रहेकोमा उनले जोड दिए ।

रावलले सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान र कानूनको मर्मविपरीत स्थानीय तहको अधिकार कटौती हुनेगरी प्रस्ताव आएकोप्रति आफूहरुको पहिल्यै नै विरोध रहेकोले एमालेको अडान यथावत् रहेको धारणा राखे ।