स्थानीय तहलाई लक्षित गर्दै कांग्रेसको महत्वाकांक्षी घोषणापत्र सार्वजनिक

काठमाण्डौ, १२ वैशाख । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषपणापत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले घोषणापत्रमा अबको प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल, कम्तिमा एउटा बैंक र १६ वर्षमाथिका सबैको बैंक खाता हुने परिकल्पना गरेको छ । त्यस्तै हरेक घरमा धारा, स्थानीय तहमा एउटा हेलिप्याड र पायक पर्ने ठाउँमा एम्बुलेन्स हुने पनि घोषणापत्रमा उल्लेख छ ।

कांग्रेसले हरेक वडामा बालउद्यान पार्क, खेलकुद हल र मासिक प्रतियोगिता सञ्चालन गर्ने पनि उल्लेख गरेको छ । कृषि, पशुसेवा, खानेपानी र सिँचाईका लागि एकद्वार सेवा केन्द्र स्थापना गर्ने, हरेक घरमा डिजिटल टिभी र स्तरीय पत्रिकाको पहुँच रहने पनि कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

कांग्रेसले स्थानीय तहमा जनशक्ति, वित्त स्रोत साधन, शासकीय प्रबन्ध र व्यवस्थापकीय कौशल सुनिश्चित गराउने प्रतिबद्धता जनाएको छ । घोषणपत्र सार्वजनिक गर्दै पार्टी सभापति देउवाले कांग्रेसको घोषणापत्रले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नै भन्दै निर्वाचनमा होमिन निर्देशन दिए ।

त्यस्तै कांग्रेसले नेपालीहरुको औसत आयु ७७ वर्ष पु‍र्‍याउने, १० हजार मेगावाट ऊर्जा उत्पादन गर्ने, ४ देखि ६ लेनका १ हजार किलोमिटर लामो द्रूत मार्ग, ५०० किलोमिटर रेलमार्ग, ४ वटा अन्तर्राष्ट्रिय विमानस्थल र वर्षमा ३२ लाख भन्दा बढी पर्यटक नेपाल भ्रमणमा आउने परिकल्पना घोषणापत्रमा व्यक्त गरेको छ ।