September 26, 2017

आफ्नो लगानी बाहेकको बिजुली भारतले नकिन्ने

काठमाण्डौ,२२ असार ।  नेपाली विद्युतको मूल बजार भारत हो, तर भारतले आफ्नो लगानीमा उत्पादित बिजुली मात्र किन्ने कानुन बनाउन लागेको छ ।

कानुन पारित भएमा नेपालमा विद्युत् उत्पादन गरेर भारत निर्यात गर्ने उद्देश्यले आउने भारतबाहेकका कम्पनीका लागि बाटो बन्द हुने भएको छ । भारतले यसअघि नै जारी गरेको ‘क्रसबोर्डर विद्युत् व्यापार निर्देशिका’ले जलविद्युत्मा भारतबाहेकका लगानी सम्भावना समाप्त पारेको थियो । त्यसैले यस्तो नीति सच्याउन नेपालले गरेको आग्रहविपरीत भारतले कानुन नै ल्याउन लागेको छ ।

भारतको ऊर्जा मन्त्रालयले गत मंसिरमा जारी गरेको निर्देशिकाका आधारमा केन्द्रीय विद्युत् नियमन आयोगले क्रसबोर्डर विद्युत् व्यापार नियमावली–२०१७ ल्याउन लागेको हो । नियमावलीमा नेपालसहित अन्य छिमेकी मुलुकसँगको विद्युत् खरिद–बिक्रीका शर्त, प्रसारण लाइन शुल्क, दरखास्त दस्तुरलगायतका व्यवस्था समेटिएका छन् । आयोगले नियमवालीको मस्यौदा तयार गरि यसलाई अन्तिमरुप दिन अहिले सरोकारवालासँग छलफल गरिरहेको छ।

निर्देशिकामा भएको कतिपय व्यवस्था दुई मुलुकबीच भएको विद्युत् व्यापार सम्झौता( पीटीए) विपरीत भएको भन्दै त्यसलाई सच्याउन नेपालको ऊर्जा मन्त्रालयले भारतीय विद्युत मन्त्रालयलाई लिखित आग्रह गरेको थियो । पीटीए धारा २ (ख) मा नेपाल र भारतले साझा विद्युत् बजारमा सबै आधिकारिक अनुमतिपत्र प्राप्त सहभागीलाई सीमापार प्रसारणलाइन संयोजनमा विभेदरहित पहुँच प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

भारतीय पक्षले केन्द्रीय विद्युत नियमन आयोगले नियमावली बनाउँदा नेपालको चासोलाई सम्बोधन गर्ने आश्वासन भारतीय पक्षले दिंदै आएको थियो । तर, नेपालको आग्रहलाई व्यवस्था गर्दै भारतले नयाँ नियमावली ल्याउन लागेको हो । नियमावली जस्ताको तस्तै पारित भएर लागू भएमा भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीले नेपालमा उत्पादित बिजुली भारत या बंगलादेश लगायतका मुलुकमा बिजुली बेच्ने सम्भावना सकिने छ। अर्कातर्फ विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले बजार अनिश्चित बनी नेपालमा तेस्रो देशको लगानी पनि रोकिने छ । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।