२४ स्थानीय तहको नतिजा सार्वजनिक हुन बाँकी

काठमाण्डौ, २१ असार । दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत २४ स्थानको परिणाम आउन बाँकी रहँदा एमालेले अग्रता कायमै राखेको छ ।

पछिल्लो मत परिणाम अनुसार एमाले १ सय ३७ तहमा विजयी भएको छ । यस्तै कांग्रेसले १ सय १७ स्थानीय तहमा जित हासिल गरेको छ । माओवादी केन्द्र ३६ स्थानसहित तेस्रो स्थानमा उभिएको छ । यस्तै संघीय समाजवादी र फोरम लोकतान्त्रिकले ६/६ स्थानीय तहमा जीत हासिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ४ र राष्ट्रिय जनमोर्चा २ स्थानमा विजयी भएका छन् । स्वतन्त्र २ उम्मेदवार पनि विजयी भएका छन् ।

पछिल्लो मतगणना अनुसार एमालेले १५ स्थानमा अग्रता कायम राखेको छ भने कांग्रेस ४ स्थानमा अगाडि छ । माओवादी केन्द्रले २ स्थानमा अग्रता कायम राखेको छ । अन्यले पनि ३ स्थानमा अग्रता बनाइराखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिकामा एमालेका शिवराज सुवेदी र उपप्रमुखमा गोमा आचार्य विजयी भएका छन् । यस्तै मोरङको पथरी शनिश्चरे नगरपालिकामा एमालेका दिलीपकुमार राई प्रमुख र यमुना विष्ट उपप्रमुख निर्वाचित भएका छन् ।

यता सुनसरीको बराह नगरपालिकामा एमालेका निलम खनाल र कमला खनाल प्रमुख / उपप्रमुख चुनिएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमालेका कर्णबहादुर हमाल प्रमुख र रमिता राना उपप्रमुख विजयी भएका छन् ।