August 17, 2017

स्थानीय तहको निर्वाचन खारेज गर्न विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीको माग

काठमाण्डौ, १२ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले गर्न लागेको स्थानीय तहको निर्वाचनले जनतालाई अधिकार सम्पन्न नगराउने दाबी गर्दै खारेज गर्न माग गरेको छ ।

काठमाण्डौको शान्ति बाटिकामा मंगलबार विरोधसभा आयोजना गरी नेकपाले स्थानीय तह निर्वाचनले कुनै निकास नदिने बताएको हो । सभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाले भारतसँग भएका असमान सन्धी खारेज नभएसम्म नेपालको विद्यमान समस्या हल नहुने दाबी गरे ।

उनले अहिले स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपनि स्वतः स्फुर्त रूपमा काम गर्न नसक्ने बताए । स्थायी कमिटीका अर्का सदस्य हेमन्तप्रकाश वलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धेरै खरानी घस्ने नयाँ जोगी भएको आरोप लगाउनसम्म भ्याए ।