September 21, 2017

वैदेशिक रोजगारका उजुरी सिधै मन्त्रालयको हटलाईन टेलिफोनमार्फत दर्ता गर्न सकिने

काठमाण्डौ, २१ असार । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी तथा उद्धार सम्बन्धी सहायता कक्ष स्थापना गरेको छ ।

मन्त्रालयमा स्थापना गरिएको कक्षको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले उद्घाटन गरेका हुन् । वैदेशिक रोजगारमा भएका ठगी तथा उद्धार सम्बन्धी उजुरी सिधै मन्त्रालयको हटलाईन टेलिफोन नम्बरमा सम्पर्क गरी दर्ता गर्न सकिने मन्त्रालयले जनाएको छ । उक्त उजुरी मन्त्रालयले तत्काल समाधान गर्ने कार्यक्रममा जानकारी दिइयो । त्यस्तै वैदेशिक रोजगारका क्षेत्रमा मन्त्रालयले श्रम स्वीकृति देखि क्षतिपूर्ति, सीप, तालिम लगायतका विषयमा प्रभावकारी रुपका कार्य गर्ने मन्त्री मन्सुरले जानकारी दिए ।

मन्त्रालयले वैदेशिक रोजगार ऐनको संशोधन, कल्याणकारी कोषको अधिकतम परिचालन, अनलाईन प्रणालीको व्यवस्थापन लगायतका विषयलाई पनि तत्काल अघि बढाइने जनाएको छ । त्यस्तै मन्त्री मन्सुरले सामाजिक सुरक्षा कोष विधेयक र श्रम विधेयक संसदमा विचाराधिन अवस्थामा रहेकोमा त्यसलाई यथाशक्य छिटो पारित गराउन प्रयत्न गरिने पनि जनाए ।