३ सय ८ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा यस्तो छ स्थिति-

काठमाण्डौ, २१ असार । दोस्रो चरणको स्थानीय निर्वाचनको परिणाम आउने क्रम जारी छ । ३ सय ३४ स्थानीय तहमध्ये अब २६ स्थानीय तहको नतिजा सार्वजनिक हुन बाँकी छ ।

पछिल्लो मत परिणाम अनुसार एमाले १ सय ३५ तहमा विजयी भएको छ । यस्तै कांग्रेसले १ सय १७ स्थानीय तहमा जीत हासिल गरेको छ । माओवादी केन्द्र ३६ स्थानमा जीत हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले २० स्थानमा जीत हासिल गरेका छन् ।

अग्रताको अवस्था हेर्ने हो भने एमालेले १७ स्थानमा अग्रता कायम राख्दा कांग्रेस ४ स्थानमा अगाडि छ । माओवादी केन्द्रले २ स्थानमा अग्रता कायम राखेको छ । त्यस्तै अन्यले ३ स्थानीय तहमा अग्रता कायम गरिराखेका छन् ।

पछिल्लो परिणाम अनुसार कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एमालेका ममतप्रसाद चौधरी र उपमेयरमा एमालेकै प्रेमकुमार थापा निर्वाचित भएका छन् । यस्तै, मोरङको बेलवारी नगरपालिकामा पनि एमालेका ज्ञानेन्द्र सुवेदी मेयर र ढाकाकुमारी पराजुली उपमेयरमा निर्वाचित भएका छन् ।

यस्तै, सुनवर्षी नगरपालिकामा कांग्रेसका कालीप्रसाद दास मेयर र कांग्रेसकै मञ्जुकुमारी राई उपमेयरमा निर्वाचित भएका छन् । मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा पनि कांग्रेसका खड्ग फागो निर्वाचित भएका छन् । उपमेयरमा भने एमालेकी लक्ष्मी भण्डारी निर्वाचित भएकी छन् ।

यस्तै, कपिलवस्तु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका किरण सिंह र उपमेयरमा कांग्रेसकै लक्ष्मीदेवी कसौधन निर्वाचित भएका छन् । कपिलवस्तुकै वाणगंगा नगरपालिकामा पनि कांग्रेसका मंगलप्रसाद थारु मेयर निर्वाचित भएका छन् । उपमेयरमा भने एमालेका चक्र अर्याल निर्वाचित भएका छन् ।

कपिलवस्तुको महाराजगंज नगरपालिकाको मेयरमा कांग्रेसका अब्दुलकलाम खाँ र उपमेयरमा पनि कांग्रेसकै शोभावति कुल्मी निर्वाचित भएका छन् । यस्तै, झापाको गौरदह नगरपालिकामा नेपाली कांग्रेसका रोहितकुमार शाह मेयरमा निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेका गीता भेटवाल विजयी भएकी छिन् ।

उता, सुनसरीको कोशी गाउँपालिकामा नेपाली कांग्रेसका ऐयव अन्सारी अध्यक्ष र अनितादेवी यादव उपाध्यक्षमा निर्वाचित भएका छन् ।