प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षति रोक्न सरकारका सबै संयन्त्र चुस्त रहेको गृहमन्त्रीको जीकिर

काठमाण्डौ, २१ असार । गृहमन्त्री जनार्दन शर्माले बाढी पहिरोजस्ता घटनाबाट हुनसक्ने क्षति रोक्न सरकारका सबै संयन्त्र चुस्त अवस्थामा रहेको बताएका छन् ।

व्यवस्थापिका संसदमा बुधबार देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो तथा यसले पुर्‍याएकाे क्षतिबारे संसदमा जानकारी गराउँदै शर्माले यस्तो बताएका हुन् । गृहमन्त्री शर्माले सिन्धुपाल्चोक, कास्की, सप्तरी, पर्वत लगायत ठाउँमा गएको बाढी पहिरोबारे जानकारी गराएका थिए । साथै उनले बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने पनि विश्वास दिलाए ।

गृहमन्त्री शर्माले माघ ७ गतेभित्रै प्रदेश तथा संघको चुनाव गर्न सरकार प्रतिबद्ध रहेको भन्दै त्यसका लागि आवश्यक पर्ने कानून पनि छिट्टै संसदमा पेश गर्ने बताए ।