अब भारतमा सीए पढेकालार्इ आइक्यानले मान्यता नदिने

काठमाण्डौ, २१ असार । चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)ले भारतमा चार्टर्ड ‌एकाउन्टेन्ट (सीए) अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ ।

निर्णय कार्यान्वयनमा आए गुणस्तरीय शिक्षाबाट नेपाली विद्यार्थी वञ्चित हुने ठानिएको छ । एक वर्षपछि (०७५ साउन १ देखि) भारतमा पढेकाले नेपालमा सीएको मान्यता पाउने छैनन् । आइक्यान लेखापरिक्षकको नियामकर अर्धन्यायिक निकाय हो । सरकारी प्रतिनिधिसहित ६ जना सदस्यले लिखित असहमति जनाए पनि बहुमतबाट यो निर्णय भएको हो ।

चार्टर्ड एकाउन्टेन्ट १०, रजिस्टर्ड अडिटर ४ र सरकारी प्रतिनिधि ३ गरी १७ जनाको आइक्यान बोर्ड हुन्छ । अर्थ मन्त्रालय, महालेखा  परीक्षक र महालेखा नियन्त्रक कार्यालयका एक/एकजना प्रतिनिधिले आइक्यानमा प्रतिनिधित्व गर्छन् । भारतमा सीए पढ्न जानेको लर्कोका कारण देशभित्रका शिक्षण संस्थाले पर्याप्त विद्यार्थी पाउन नसकेपछि तिनकै प्रभावमा विनाअध्ययन, गैरजिम्मेवार निर्णय गरिएक आरोप कतिपयले लगाएका छन् ।

आइक्यानले भारतीय चार्टर्ड एकाउन्टेन्सी संस्था (आईसीआई)ले नेपालमा पढेका सीएलाई मान्यता नदिएको कारण जनाई यस्तो निर्णय गरेको हो । दुई देशबीचका संस्थाबीच एकअर्का देशमा पढेका सीएलाई मान्यता दिने प्रचलन छ । नेपालले यस्तो मान्यता दिएपनि भारतले नेपालमा पढेका सीएलाई मान्यता दिएको छैन । आईक्यानले एकतर्फी मान्यता दिने अन्तराष्ट्रिय प्रचलन नभएको भन्दै यस्तो निर्णय गर्नुपरेको बताएको छ।

आइक्यानले आवश्यक र योग्य सीए उत्पादन गर्ने पूर्वाधार देशभित्रै तयार भइसकेको उल्लेख गरेको छ । देशमै सीए उत्पादन गर्न सक्षम रहेको अवस्थामा पनि वर्षेनी ठूलो धनराशि बाहिरिइरहेकाले पनि यसलाई रोक्नुपर्ने संस्थाको जिकिर छ। सीएको नेपालको पाठ्यक्रमलाई परिमार्जन गर्दै लगेको र परिमार्जित पाठ्यक्रम आईसीआईले जारी गरेको पठ्यक्रमसँग फरक पर्नेसमेत कारणमा उल्लेख छ । याे खबर अन्नपूर्ण पोस्टमा छ ।