September 21, 2017

रेडपाण्डा र चितुवाको छालासहित सुर्खेतबाट तीन पक्राउ

रमेश पाण्डे / सुर्खेत, असार २० । जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु रेडपाण्डा र चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।

मंगलबार प्रहरीको टोलीले वीरेन्द्रनगर–३ स्थित इट्टाभट्टा लाइनबाट २ रेडपाण्डा, २ चितुवाको छाला र ६९ थान हड्डीसहित ३ जनालाई पक्राउ गरेको हो । तस्करमा संलग्न कालिकाट महावु गाउँपालिका–३ का ३८ वर्षीय दिपक सिंह, खागाचक्र नगरपालिकाका २४ वर्षीय रमित मल्ल र दैलेख नारायण नगरपालिका–११ का बलबहादुर सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले सुर्खेतमा संरक्षित वन्यजन्तुहरुको आखेटोपहार तस्करी हुन लागेको सूचनाका आधारमा दिपक सिंहको कोठामा खानतलासी गर्दा रेडपाण्डा र चितुवाको छालासहित हड्डी फेला परेको बताए ।

बरामद गरिएको रेडपाण्डाको एउटा छालाको लम्बाइ २ फिट ७ इन्च छ भने चौडाइ १ फिट २ इन्छ छ । यस्तै अर्को चितुवको छालाको लम्बाइ २ फिट ११ इन्चको छ भने चौडाइ १ फिट १ इन्च छ ।