दक्षिणी जर्मनमा बस दुर्घटनाः १८ जना मरेको आशंका, ३० घाइते

काठमाण्डौ, १९ असार । दक्षिणी जर्मनमा एउटा बसमा दुर्घटना पछि आगो लाग्दा १८ जना यात्रुको मृत्यु भएको आशंका जर्मन पुलिसले गरेको छ ।

दुर्घटनापछि बसमा आगो लाग्दा ३० जना घाइते भएको बताइएको छ । उक्त बस वेवारियन सहरमा ट्रकसँग जुध्दा क्षतिग्रस्त भएको हो । ‘३० यात्रुहरुलाई अस्पताल लगिएको छ, तीमध्ये कतिको अवस्था चिन्ताजनक छ र अरु यात्रुहरु बसमा आगो लागेका कारण मारिएको आशंका गरिएको छ ।’ जर्मन पुलिसले विज्ञप्तिमा जनाएको छ ।

यो घटनालाई लिएर जर्मन चान्सलर एनजेला मर्केलले ठूलो क्षति भएको बताएकी छिन् । यद्दपि बस ट्रकसँग ठोकिएको कारण पत्ता लागि नसकेको र यसबारे अनुसन्धान सुरु गरिएको जर्मन पुलिसले बतायो ।