प्रतिक्षाको घडी सकियो, हिमालय रोडिज आज राती ८ बजेबाट प्रशारण हुदै

काठमाण्डौ १९ असार  । साहसिक तथा रोमाञ्चक टेलिभिजन सिरिज हिमालय रोडिज आज देखि हिमालय टेलिभिजनबाट प्रशारण हुदैछ ।

युवाहरुकाबीच अन्तराष्ट्रियरुममै ख्यातीप्राप्त एमटिभी रोडिजको पहिलो नेपाली संस्करणका रुपमा हिमालय रोडिज आज राती ८ बजे देखि हिमालय टेलिभिजनबाट प्रशारण हुन थालेको हो ।

प्रतियोगिले प्रतिकुल अवस्थामा साहस, चुनौती र आश्चर्यजनक क्षमता प्रस्तुत गर्ने भएकाले दर्शकहरुकाबीच यो कार्यक्रमको अन्तर्राष्ट्रिय ब्रान्ड स्थापित भएको छ ।

एमटिभी रोडिजबाट मनोरञ्जन लिइरहेका नेपाली दर्शकले अब हिमालय रोडिज मार्फत भरपुर मनोरञ्जन प्राप्त गर्ने कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीको भनाई छ ।

हिमालय रोडिज अन्तराष्ट्रिय ख्याति प्राप्त एमटिभी रोडिजको नेपाली सँस्करण भएकाले यसको गुणस्तर भायकम १८ ले प्रमाणित गरेकाले हिमालय रोडिज  अन्तराष्ट्रिय स्तरको रहेको निर्देशक अधिकारीले बताए ।

हिमालय रोडिज, हरेक सोमबार साँझ ८ देखि ९: ३० बजेसम्म हिमालय टेलिभिजनमा हेर्न सकिनेछ । पुन : प्रशारणकालागि सोमबार राती ११ बजे, मँगलबार विहान ११ बजे, बुधबार राती ८ बजे, शुक्रबार विहान ८ बजे र शनीबार दिउसो १२ बजेको समय मिलाइएको हिमालय टेलिभिजनका कार्यक्रम सँयोजक राजु भण्डारीले जानकारी दिए ।

प्रथम चरणमा हिमालय रोडिज पोखरा बुटवल नारायणगढ धरान र काठमाण्डौमा प्रतियोगी छनौट गरिएका श्रृंखला प्रशारण हुनेछ । त्यसै गरी छैठौ देखि छानिएका प्रतिस्पर्धीलाई लिएर हिमाल पहाड तराई समेटने गरी विभिन्न साहासिक खेल सहितको श्रृंखला प्रशारण गरिनेछ ।

हिमालय रोडिजको विजेता घोषणा १८ औं श्रृंखलामा गरिनेछ । विजेताले २० लाख रुपैयासम्म नगदका साथै बजाज एभेन्जर मोटरसाइकल प्राप्त गर्ने छ ।