August 19, 2017

संयुक्त विद्यार्थी संगठनद्वारा उपत्यकाका तीनवटै जिल्ला शिक्षा कार्यालयमा धर्ना

काठमाण्डौ, १२ वैशाख । संयुक्त विद्यार्थी संगठनले अभिभावकहरुको ढाड सेक्ने गरी मनोमानी ढंगले शुल्क बढाएको भन्दै शुल्क घटाउन दबाब दिने उद्देश्यले मंगलबार उपत्यकाका तीन वटै जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन् ।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले तीन दिनभित्र शुल्क घटाउन अल्टिमेटम दिए पनि निजी विद्यालयहरुले शुल्क नघटाएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

निजी विद्यालयले शुल्क घटाउने विषयमा कुनै चासो नदिइएकोले संयुक्त विद्यार्थी संगठनले थप आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको अनेरास्ववियुका संगठन विभाग प्रमुख सुदर्शन सिवाकोटीले जानकारी दिए ।

वैशाख १२ गते देशभर जिल्ला शिक्षा कार्यालय घेराउ, वैशाख १३ गते चर्को शुल्क लिने नीजि शैक्षिक संस्थाको लेखा र प्रशासन शाखामा तालाबन्दी, वैशाख १४ गते प्याव्सन र एनप्याव्सनका केन्द्र जिल्ला कार्यालय तालाबन्दी गर्ने कार्यक्रमहरु रहेका छन् ।