Breaking News

अर्थ मन्त्रालय भन्छः ‘बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्रोत र साधनको अभाव छैन’

काठमाण्डौ, १८ असार । अर्थ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्रोत र साधनको अभाव नरहेको जनाएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाका विषयमा छलफल गर्न आईतबार सिंहदरबारमा बसेको कृषि तथा जलस्रोत समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बूढिगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्रोत र साधनको अभाव नरहेको बताएका हुन् ।

सचिव सुवेदीले १२ सय मेघावाट क्षमताको बूढिगण्डकी जलविद्युत् आयोजना निर्माणका काम अघि बढाउन अर्थ मन्त्रालयले उर्जा मन्त्रालयसँग सहकार्य गरी नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको पनि जानकारी दिए ।

बूढिगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दिने पुष्पकमल दाहाल नेतृत्वको सरकारले निर्णय गरेको थियो । बैठकमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले भने, ‘आयोजना अगाडि बढाउनुपर्ने र लगानी पनि जुटाउनुपर्ने अवस्थाको बीचबाट विधि, नियम र कानून अन्तर्गत चिनियाँ कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको हो ।’

कुल १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना आन्तरिक स्रोतबाट तत्काल लगानी जुटाउन कठिन हुने भएकाले विदेशी लगानी खोजिएको सरकारको भनाई छ । बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी हिउँदमा मुलुकभर नै सहज रुपमा विद्युत् सेवा उपलब्ध गराउन २ करोड थान एलइडी बल्ब खरिद गर्न लागिएको पनि जानकारी दिए ।

समिति सदस्यहरुले खिम्ती र भोटेकोसीमा गरिएको डलर सम्झौताका कारण प्राधिकरणको आर्थिक अवस्था प्रभावित भएको भन्दै आगामी दिनमा कुनै पनि आयोजनामा त्यस खालको सम्झौता नगर्न ऊर्जा मन्त्रालय र प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

shares