September 25, 2017

सार्वजनिक विषयकाे सूचना पाउनु सबैको हकः प्रमुख सूचना आयुक्त बाँस्कोटा

काठमाण्डौ, १८ असार । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले आमनागरिकले सूचना मागेको बखतमा सहज रुपमा उपलब्ध गराउनु पर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आयोजना गरेको सूचना हकको संरक्षण, सम्बद्र्धन तथा प्रचलन सम्बन्धी गोष्ठी कार्यक्रममा बोल्दै बाँस्कोटाले यस्तो बताएका हुन् । उनले प्रशासक र पदको आवरणमा सूचना लुकाएर लोकतन्त्रको उपहास गर्न नहुने भन्दै लोकतान्त्रिक पद्धतिमा पनि यसरी सूचना लुकाउने जो कोहीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

सार्वभौम सत्तामा खलल पुग्ने, मुद्दा मामिला अनुसन्धान भइरहेको, आर्थिक गम्भिर गोपनियता, जातिय सद्भाव भड्किने र नितान्त व्यक्तिगत सूचना बाहेक अरु सार्वजनिक सूचना सेवाग्राहीले मागेको बखतमा तोकिएको समयसीमाभित्र पाउनु पर्नेमा बाँस्कोटाले जोड दिए ।

सूचना सार्वजनिक नगर्ने कार्यालय र व्यक्ति भ्रष्टाचारमा लोप्त भएको हुनसक्ने भन्दै उनले सार्वजनिक चासोका विषयमा सूचना सार्वजनिक गर्न जरुरी रहेको बताए ।