August 20, 2017

संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित हुन नदिने एमालेको अडान

काठमाण्डौ, १२ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुन नदिने अडान दोहोर्‍याएको छ ।

एमाले अध्यक्ष केपी ओली निवासमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारद्वारा व्यवस्थापिका संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव, स्थानीय तहको निर्वाचनसम्बन्धी तयारी, पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक राष्ट्रिय हितविपरीत, संविधानको मर्म भावनाको विपरीत, जनचाहिना विपरीत, २०६२/०६३ जनक्रान्तिका भावनाविरुद्ध तथा राजनीतिक दलहरूबीचमा ध्रुवीकरण गर्दै मुलुकलाई थप अस्थिरताको दिशातिर धकेल्ने गम्भीर षड्यन्त्रसहित आएको ठहर गर्दै संविधान संशोधनको उक्त विधेयकलाई संसदभित्र कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले ३१ गतेको निर्वाचनको तयारीमा जुटिरहेको बेलामा निर्वाचनलाई नै अनिश्चयतिर धकेल्ने र दुई चरण गर्ने नाममा स्वयम् निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहितालाई उल्लंघन गरेको भन्दै आजै निर्वाचन आयोगसमक्ष औपचारिक ध्यानाकर्षण गराउने जनाएको छ ।