विभिन्न विधाका सात खेलाडी दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारद्वारा सम्मानित

काठमाण्डौ, १७ असार । विभिन्न विधाका सात खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

शहीद चन्दको ११५ औं जन्म जयन्तीको अवसर पारेर शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले आज राष्ट्रिय खेलकुद परिषद्मा कार्यक्रम गरी खेलाडीलाई सम्मान गरेको हो । २०७३ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा पूर्वाञ्चलबाट फुटबलका नवयुग श्रेष्ठ र मध्यमाञ्चलबाट भलिबलकी प्रतिभा माली पुरस्कृत भए ।

यस्तै पश्चिमाञ्चलबाट एथलेटिक्सकी विपना परियार, मध्यपश्चिमाञ्चलबाट क्रिकेटकी नेरी थापा र सुदूरपश्चिमाञ्चलबाट तेक्वान्दोकी ओलम्पियन निशा रावल सम्मानित भए । त्यस्तै अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितलाई मरणोपरान्त सम्मान गरियो ।

सम्मानित सबैलाई जनही १० हजार र प्रशंसा पत्र प्रदान गरियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री लाकेन्द्रबहादुर चन्दले खेल र खेलाडीको विकासका लागि राज्य गम्भीर हुनुपर्ने बताए ।