प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न सकिन्नः प्रमुख आयुक्त यादव

काठमाण्डौ, १७ असार । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कानूनी, संवैधानिक र व्यवस्थापकीय दृष्टिकोणले पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता नामावलीको दृष्टिकोणले, व्यवस्थापकीय दृष्टिकोणले र संवैधानिक दृष्टिकोणले पनि एकै चरणमा दुई वटै निर्वाचन कुनै पनि हालतमा गर्न नसकिने बताएका हुन् । यादवले संविधानमा उल्लेख भए अनुसार नै निर्वाचन आयोगले निर्वाचन गर्ने उल्लेख गरे । प्रान्तीय र आम निर्वाचन एकै चरणमा कुनै पनि हालतमा गर्न नसकिने स्प्ष्ट पार्दै यस वर्ष मुलुक निर्वाचनमय हुने धारणा राखे ।

यादवले यही आउने माघ ७ गतेभित्रै सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले बाँकी निर्वाचनको लागि आयोगले हिजोमात्रै सरकारलाई प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको जानकारी दिए । उनले छोटो समयमा ज्यादै महत्वपूर्ण कामहरु गर्नुपर्ने भएकोले निर्वाचनसम्बन्धी आधारभुत कानून, निर्वाचन क्षेत्र निर्धारण र मिति समयमै चाहिएको समेत बताए ।

यादवले असोजको तेस्रो साता प्रदेशको चुनाव, कार्तिकको १५ गतेभित्र राष्ट्रिय सभाको र मंसिरको पहिलो साता प्रतिनिधि सभाको चुनाव गर्नुपर्नेमा जोड दिए ।