मुस्लिमका मागमा सरकार संवेदनशील भएनः ओली

काठमाण्डौ, १२ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्लिमका मागमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।

उनले मुस्लिम समुदाय रमजानमा रहेका बेला चुनावको मिति घोषणा गर्नु असंवेदनशीलताको उदाहरण भएको बताए । ‘पानी पनि नखाई व्रत बसेका मुस्लिम समुदाय कसरी भोट दिन जान सक्छन् ?,’ राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार अाेलीकाे निजी निवास बालकोटमा बुझाएको ज्ञापन पत्र लिँदै उनले भने, ‘धार्मिक आस्थासँग जोडिएको विषयलाई हल्का रुपमा लिनु हुँदैन ।’

ओलीले ५ प्रतिशतभन्दा ठूलो संख्यामा रहेका मुस्लिम समुदायलाई मतदानबाट वञ्चित गर्न नसकिने धारणा राखे । ‘मैले संसदमा यो कुरा हिजो पनि राखिसकेको छु,’ उनले भने, ‘तर मैमत्त सरकारले के सुन्ला ?’

ओलीलाई गठबन्धनका संयोजक समीम अन्सारी नेतृत्वको टोलीले संविधान संशोधनमा मुस्लिम समुदायको उच्चारण समेत नभएको भन्दै ध्यानाकर्षण गराएको छ । अन्सारीले विगतमा पनि ओली सरकारले मुस्लिम समुदायका लागि विद्यालय लगायतका सुधार र सहुलियतका कार्यक्रम ल्याएको भन्दै धन्यवाद दिएका थिए ।