स्थानीय निर्वाचनमा उत्साहजनक रुपमा मतदाता सहभागी भएको गृहमन्त्री शर्माको जीकिर

स्थानीय निर्वाचनमा उत्साहजनक रुपमा मतदाता सहभागी भएको गृहमन्त्री शर्माको जीकिर

काठमाण्डौ, १६ असार । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदाता उत्साहका साथ सहभागी भएको बताएका छन् ।

५९ औं संसद दिवसका अवसरमा संसद भवन नयाँ बानेश्वरमा पूर्व संसद मञ्चले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री शर्माले स्थानीय तहको निर्वाचनले मुलुकमा विकासको ढोका खोलेको उल्लेख गरे । गृहमन्त्री शर्माले आगामी माघभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री शर्माले राष्ट्र निर्माणका लागि पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुनेमा पनि जोड दिए ।

त्यस्तै मञ्चका अध्यक्ष तारानाथ रानाभाटले संसदीय व्यवस्था नमान्ने पार्टी पनि वर्तमान संसदमा सहभागिता भएको भन्दै यसले संसदको गरिमा बढ्दै गएको बताए । कार्यक्रममा विभिन्न दलका सांसदहरुले संसदलाई जनताको प्रतिनिधित्व गर्ने ठाउँ बनाउन सबै एक भएर लाग्नुपर्ने धारणा राखेका थिए ।