मतगणना कार्यलाई तीव्रता दिन निर्वाचन आयोगको निर्देशन

काठमाण्डौ, १६ असार । निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गत स्थानीय तह निर्वाचनको मतगणना कार्यलाई तीव्र रुपमा अघि बढाउन सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

आयोगले मतगणना कार्यमा उम्मेदवार वा निजका प्रतिनिधि उपस्थित नभए वा हस्ताक्षर नगरेको अवस्था पनि मतगणना कार्य अगाडि बढाउन निर्देशन दिएको हो । शुक्रबार बसेको आयोगको बैठकले उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।

बैठकपछि निर्देशन जारी गर्दै आयोगले मतगणनामा सबै वा केही उम्मेदवार, उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भएर पनि मुचुल्कामा सहीछाप नगरेमा पनि मतदना कार्य अघि बढाउन भनेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६० मा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेद्वार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम नरोकिने उल्लेख गरिएको छ ।