अधिकांश स्थानमा मतगणना सुरु, किन भएन २७ स्थानको मतगणना ?

काठमाण्डौ,१६ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रले एक-एक स्थानमा विजयी यात्रा सुरु गरेका छन् ।

पहिलो मत परिणामका रूपमा कांग्रेसले बझाङको काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेको छ ।
अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहोरा र उपाध्यक्षमा का‌ंग्रेसकै कल्पना बोहोरा विजयी भएका छन् ।, एमालेले पनि बझाङबाट खाता खोलेको छ ।

मस्टा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको हो । अध्यक्षमा एमालेका कर्णबहादुर कठायत र उपाध्यक्षमा भगवती बोहोरा विजयी भएका हुन् । यस्तै सोलुखुम्बुको लिखुबिके गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेत र उपाध्यक्षमा केन्द्रकै प्रमिला बस्नेत विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार बिहीबार राति ११ बजेसम्म ३०७ स्थानीय तहको मतगणना सुरु भएको छ । ३ सय ३४ मध्ये अन्य २७ स्थानको मतगणना भने सुरु भएको छैन । उच्च पहाडी र हिमाली जिल्लाबाट मतपेटिका सङ्कलन भइरहेका कारण मतगणना सुरु नभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।