November 19, 2017

पोप फ्रान्सिसका आर्थिक सल्लाहकार पेल विरुद्ध यौन अपराधको मुद्दा दर्ता

काठमाण्डौ, १५ असार । पोप फ्रान्सिसका प्रमुख आर्थिक सल्लाहकार कार्डिनल जर्ज पेल विरुद्ध अष्ट्रेलियन प्रहरीले यौन अपराधको मुद्दा दर्ता गराएको छ ।

अष्ट्रेलियन प्रहरीले वरिष्ठ क्याथोलिक अधिकारी कार्डिनल जर्ज पेल विरुद्ध विगतमा भएका बाल यौन दूर्व्यवहारका घटनाका आधारमा मुद्दा दर्ता गरेको हो । पेल सन् १९७० को समयमा थुप्रै बाल यौन दूर्व्यवहारका घटनामा मुछिएको प्रहरीको भनाई छ । ७६ बर्षीय पेल विरुद्ध धेरैले यौन अपराधको आरोप लगाएको अधिकारीले जनाएका छन् । पेलले भने आरोप निराधार भएको बताएका छन ।

भ्याटिकन सिटीमा बस्दै आएका पेलले आफूमाथि लागेको आरोप गलत सावित गर्न अष्ट्रेलिया फर्कन लागेको बताएका छन । पेललाई मेलबोर्न म्याजिस्ट्रेट्स अदालतमा जुलाई १८ मा उपस्थित हुन आदेश दिइएको छ । यौन दूर्व्यवहारको आरोप लागेका कार्डिनल पेल अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।