आज असार १५ अर्थात १४ औं ‘राष्ट्रिय धान दिवस’ एवं रोपाई महोत्सव

काठमाण्डौ, १५ असार । आज असार १५ अर्थात १४ औं ‘राष्ट्रिय धान दिवस’ एवं रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी असार पन्ध्र मनाइँदैछ ।

नेपालीहरुका लागि असार १५ एउटा पर्व नै हो । मानो रोपेर मुरी फलाउने दिनको रुपमा असार पन्ध्रमा रोपाइ गरी, आपसमा हिलो खेली मनाउने गरिन्छ । आजको दिन दही चिउरा खाँदै खेतमा गएर रमाइलो गरिन्छ । दही र चिउरा खानाले शरीरमा स्फूर्ति उत्पन्न हुने जनविश्वास छ ।

सरकारले २०६१ देखी हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । नेपालको कुल खेतीयोग्य जमिन मध्ये आधाभन्दा बढी जमिनमा धानखेती हुने गरेको छ ।