Breaking News

दोस्रो चरण अन्तर्गत निर्वाचन भएका ३५ जिल्लामा मतगणना जारी

काठमाण्डौ, १५ असार । दोस्रो चरणको स्थानीय तह अन्तर्गत निर्वाचन भएका ३५ जिल्लामा मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले ४८ स्थानमा अग्रता लिएको छ । यस्तै एमालेले ४२ र माओवादी केन्द्रले १६ स्थानमा अग्रता लिएका छन् । ६ स्थानमा अन्य दल तथा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । मतदान सकिए लगत्तै मतपेटिका संकलन भएका स्थानीय तहहरुमा हिजो नै मतगणना सुरु गरिएको हो भने केही स्थानीय तहको मतगणना आज सुरु गरिएको हो ।

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा भएको मतदानको प्रारम्भिक परिणाम पनि आउन थालेको छ । झापा, सुनसरी, मोरङ, भोजपुर, संखुवासभा, रुपन्देही, कैलाली, बाजुरा, कञ्चनपुर, डोटी, बैतडीका स्थानीय तहमा मतगणना जारी छ । त्यसैगरी पाँचथर, उदयपुर, बाँके, गुल्मी, सोलुखुम्बु, नवलपरासी, रोल्पा लगायतका जिल्लाका स्थानीय तहको मतगणना पनि जारी छ ।

प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा बुधबार मतदान भएको हो । जसअन्तर्गत १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा मतदान भएको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको थियो । दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा छन् ।

shares