अछामकाे चौरपाटी गाउँपालिका-४ मा फेरी मतदान गर्न कांग्रेस-माओवादीको माग

अछाम, १५  असार । अछाम जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलस्थित बैजनाथ मतदान केन्द्रको मतदान प्रक्रिया खारेजीको माग गरेका छन् ।

एमाले उपाध्यक्ष भीम रावलको निर्देशन र एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुँवरको प्रत्यक्ष नेतृत्वमा सुरक्षाकर्मी र मतदान अधिकृतको संलग्नतामा अरू पार्टीका प्रतिनिधि र मतदातालाई लखेटी एकलौटी रुपमा मतदान गरिएको दावी गर्दै मतदान प्रक्रिया खारेजीको माग गरेका हुन् ।

कांग्रेस जिल्ला सचिव नमबहादुर शाही र माओवादी केन्द्रका जिल्ला संयोजक झपट साँउदले संयुक्त विज्ञप्ति प्रकाशित गरी आफूहरूको सहभागिता नरहेको मतदान प्रक्रिया खारेजी गरि सत्यतथ्य छानबिनको माग गरेका छन् ।

पुनः मतदान प्रक्रिया अघि नबढाएसम्म चौरपाटी गाउपालिकाका कुनै पनि वडाको मतगणना अघि बढाउन नदिने विज्ञप्तिमा उल्लेख छ । आफूहरूलाई बिहानैदेखि मतदान स्थलबाट लखेटेर एकलौटी रुपमा मतदान सम्पन्न गराएको उक्त पार्टीले आरोप  लगाएका छन् । पायल एमाले जिल्ला अध्यक्ष एवम् पूर्व सांसद शेरबहादुर कुँवरको गाउँ हो ।