August 20, 2017

शुल्क वृद्धिको विरोधमा विद्यार्थी अान्दोलित

काठमाण्डौ, ११ वैशाख । संयुक्त विद्यार्थी संगठनले निजी स्कुलहरुले कक्षा १ देखि १० सम्म मनोमानी तवरले शुल्क बढाएको विषयमा सरकारको ध्यानाकार्षण गराए पनि कुनै सुनुवाई नभएको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

संगठनले रिपोर्टर्स क्लब नेपालमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमहरुमा वैशाख १२ गते भोलि देशभरका जिल्ला शिक्षा कार्यालय घेराउ गर्ने, वैशाख १३ गते चर्को शुल्क लिने निजी शैक्षिक संस्थाको लेखा र प्रशासन शाखा तालाबन्दी गर्ने, वैशाख १४ गते प्याब्सन र एनप्याब्सनका केन्द्र जिल्ला कार्यालय तालाबन्दी गर्ने रहेका छन् ।

आन्दोलनका अवधिमा संयुक्त विद्यार्थी संगठनका तर्फबाट स्कुलहरुको शुल्क अनुगमन गर्ने पनि उनीहरुले जानकारी दिए । त्यस्तै १८ फागुनमा क्याम्पसमा हुन नसकेका स्ववियु निर्वाचन जेष्ठ मसान्तपछि गर्न त्रिविलाई संयुक्त विद्यार्थी संगठनले ध्यानाकर्षण गराएका छन् ।

विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्नातकोत्तर तहमा लागु भएको सेमेष्टर प्रणाली आफैंमा स्वागतयोग्य भए पनि, पर्याप्त तयारी बिना सञ्चालन भएकोले सम्पूर्ण विद्यार्थीहरुलाई नसमेटिएको गुनासोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भिर ध्यानाकार्षण भएको छ ।’