October 24, 2017

स्टिल ब्याकलाई लुम्बिनी फुटसल प्रिमियर लिगको उपाधि

काठमाण्डौ, ३१ चैत्र । स्टिल ब्याकले बिहीबार लुम्बिनी फुटसल प्रिमियर लिगको उपाधि जितेको छ । चुच्चेपाटीस्थित भाटभटेनी फुटसलमा भएको अन्तिम खेलमा स्टिल ब्याकले स्प्लिट फायरलाई ६–३ गोलअन्तरले पराजित गरेको हो ।

विजयी टिमका लागि सौगात गजुरेलले ह्याट्रिक गरे भने विनोद पुडासैनी, रमेशजंग तामाङ र मिङमार स्याङबोले १–१ गोल गरे । स्प्लिट फायरका सोहन तामाङले २ तथा राजु गौतमले १ गोल गरे ।

लुम्बिनी एकेडेमी कलेजद्वारा आयोजित प्रतियोगितामा स्प्लिट फायरका सोहन तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै गोलरक्षकमा स्प्लिट फायरका मदन चौलागाईं, डिफेन्समा ट्रिडेन्ट्सका मनीष घलान, स्ट्राईकरमा स्टिल ब्याकका सौगात गजुरेल र अनुशासनमा स्टिल ब्याककै पासाङ छिरिङ उत्कृष्ट ठहरिए ।

विजेतालाई आयोजक कलेजका प्रिन्सिपल रविचन्द्र कोइराला र स्पेनका फुटबल प्रशिक्षक अल्वर्ट गोरिनाले पुरस्कृत गरे । भदौ २३ गतेदेखि सुरु लिगमा २० टिमले सहभागिता जनाएका थिए ।

आयोजक कलेजका इसीए इन्चार्ज विनोद क्षेत्रीले लिगमा सहभागी मध्येबाट उत्कृष्ट खेलाडी छनोट गरी वैशाखको अन्तिम साता बंगलादेशको वीकेएसपी टिमसँग मैत्रीपूर्ण खेलका लागि टिम तयार गरिने जानकारी दिए ।